काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
शुक्रबार पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी राष्ट्रपतिमाथि महाअभियोग र नयाँ सरकार बनाउन दलहरुलाई आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ।’
संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको उसले बताएको छ । साझाले प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम भएको उल्लेख गरेको छ ।
प्रधानमन्त्रीले पदमा बहाल रहँदै अर्को प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गर्ने र राष्ट्रपतिले त्यसलाई सदर गर्ने जस्तो अनौठो र अत्यन्त अस्वाभाविक दृश्य विश्व राजनीतिमा सायदै कतै देखिएला भन्दै साझाले ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाल विकराल बनेको कोरोना महामारीको तेस्रो लहरले झनै भयावह स्थिति ल्याउने चेतावनी विज्ञहरूले दिइरहँदा मुलुकलाई चुनावतर्फ धकेल्न खोज्नु अक्षम्य अपराध हो । संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपतिमाथि महाअभियोग लगाउन र ओलीको विकल्प दिन संसद्मा रहेका सबै विपक्षी दल तथा सांसदहरू एक ठाउँमा उभिनु अत्यन्त जरुरी छ।’