काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै बैठकले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय गरेको छ । बैठकले बहुमतसहित विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको ठहर गरेको छ । उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले जुन षडयन्त्रपूर्ण तरिकाबाट हिजो निर्णय गर्नुभयो यो घोर अलोकतान्त्रिक संविधानको मूल मर्मविरुद्धमा रहेको छ ।’