
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् ।
संसद विघटनपछि शनिबार बिहान सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले ।संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल मात्र भएको बताएका हुन् । उनले शीतलनिवासले संविधानको मर्मलाई कुठाराघात गरेको आरोपसमेत लगाएका छन् ।
उनले लेखेका छन्, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतलनिवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’