
काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले व्यक्तिगत रुपमा आफूलाई चुनावबाट पछि हट्न आफूलाई धेरै जनाले फकाएको र थर्काएको बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत देवकोटाले समयक्रममा आवश्यकता परेमा नाम भन्ने बताएका छन् । उनले भनेका छन्, ‘कसै कसैको त भ्वाइस रेकर्डनै राखेको छु । तर म अडिग रहें । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौं ।’
उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै हुने बताएका छन्। उनले भने, ‘बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौं । बोली र ईमानमा कटिवद्ध होऔं।’
देवकोटा राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवार बनेका थिए । उनले एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका थिए ।