काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् ।
कोभिड१९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्ने गरि काम गर्न निर्देशन दिएका हुन् ।
उनले कोभिड-१९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरुको समाधान गरेको भन्दै केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।
प्रधानमन्त्रीको भनाई उदृत गर्दै बरालले भने, ‘खोप कहाँबाट ल्याउने हो र कसरी ल्याउने हो । नागरिकहरुलाई खोप दिनुपर्छ । खोपको प्रभावकारिता देखिएकोले पहिलो प्राथमिकता भनेको खोप हो । खोपपछि स्वास्थ्य सामग्रीहरुको अभाव देखिएको छ र ती सामाग्रीहरु पनि नेपाल सरकारले गरेको आव्हान अनुसार विभिन्न देशबाट उपलब्ध भएका छन् र उपलब्ध भएका सामाग्रीहरुको यथार्थ विवरण राखेर समानुपातिक र न्यायपुर्णरुपमा अस्पतालहरुमा वितरण गर्न निर्देशन भएको छ । ’
आवश्यक ऐन नियम नभएका कारण समस्या भएपनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्सनमा जान कोरोना-१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् । सार्वजनिक खरिद ऐन र नियमावलिमा देखिएका समस्यालाई सहज गराउन अध्यादेश ल्याएको र अध्यादेशले सबै बाटो खोलेकाले कुनै अलमल नगरि काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको सचिव बरालले बताए ।
कोभिड-१९ निर्देशक समितिको पहिलो बैठकमा कोरोना १९ व्यवस्थापन केन्द्रका पदाधिकारी उपस्थिति थियो । सोमबार सरकारले कोरोना-१९ व्यवस्थापन केन्द्रका प्रमुखमा अवकासप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो । उनी मंगलबारदेखि नै आफ्नो जिम्मेबारी सम्हाल्दै बैठकमा सहभागी भएका हुन्