केशवप्रसाद भट्टराई ।
१. जनमत सङ्ग्रहमा पंचायतले जित्यो र संविधानमा तेस्रो संसोधन भयो !
निर्दलीय व्यवस्था ,
पंचायत व्यवस्थाप्रतिको प्रतिवद्धता सहितको बर्गीय सङ्गठनको सदस्यता,
वालिग मताधिकारको आधारमा प्रतक्ष निर्वाचनद्वारा राष्ट्रिय पंचायतको गठन,
अनि मुलुकको सार्वभौम सत्तामाथि राजा र राष्ट्रिय पञ्चायतको संयुक्त स्वामित्व अनि कम्युनिस्ट व्यवस्थाको पोलिटब्युरो जस्तो पंचायत नीति तथा जाँचबुझ समितिको व्यवस्था।
२ . उक्त संसोधन सहितको संविधान आएपछि वीपीले भन्नु भयो–‘यो संविधानको कुनै सुविचारित गन्तव्य छैन, कुनै सिद्धान्त छैन, कुनै केन्द्र छैन,
यो व्यवस्थामा अव राजाको नियन्त्रण पनि रहँदैन र जनताको पनि !
पञ्चमांगीतत्वको मात्रै हालीमुहाली हुन्छ ।
यसमा यति धेरै अन्तविरोध यसमा छन् –त्यो अन्तरविरोधका कारण यसले आफैँ आफ्नो मृत्यु रोज्दछ ।
त्यसपछिको जटील सङ्क्रमणको व्यवस्थापन काङ्ग्रेसको दायित्व हो,
काङ्ग्रेसले त्यसलाई व्यवस्थापन गर्न सकेन भने मुलुक गम्भीर सङ्कटमा फस्छ ।
राजा पनि सङ्कटमा र मुलुक पनि !
त्यसकारण आफैँ आफ्नो अन्तरविरोधको कारण ढल्ने निश्चित पञ्चायतविरूद्ध सडकमा जानु भनेको एउटा त मरेको घोडामा चाबुक हान्नु हो ।
अर्को काङ्ग्रेस सडकमा गए पछि राष्ट्रियता विरोधी देशी विदेशी शक्तिहरू पनि सडकमा आउँछन् र अन्तत राजा र काङ्ग्रेस दुवैमाथि हावी हुन्छन् र राष्ट्र र प्रजातन्त्र दुवै गम्भीर सङ्कटमा पर्दछन् ।
त्यसकारण यतिखेर जति अपमान र लाञ्छना बेहोरेर पनि काङ्ग्रेस सवैभन्दा बढी जिम्मेवार हुनुपर्दछ !
ठ्याक्कै मिति सम्झना भएन यो आशय समेटिएको ‘म मरेको घोडालाई चावुक हान्न चाहन्न’ शीर्षकको समाचार विश्लेषण हालका काङ्ग्रेस नेता तथा पूर्वमन्त्री होमनाथ दाहाल सम्पादनको राष्ट्र पुकारमा छापिएको थियो ।
पक्कै होमनाथ दाइले यसबारे मैले भन्दा राम्रोसँग त्यसबारे भन्नु होला ।
यही आशयको भनाई वीपीले भोला चटर्जीसँगको अन्तर्वार्तामा पनि भन्नु भएको थियो ।
३. २०३७मा पञ्चायती संविधानको तेस्रो संसोधन आयो,
२०३८मा बालिग मताधिकारको आधारमा राष्ट्रिय पञ्चायतको पहिलो चुनाव भयो ।
उक्त व्यवस्थाको माथिल्लो तहमा रहेर वीपीले भन्नु भए जस्तो अन्तरविरोधको साक्षी हुनुभएका र त्यसलाई बेहोर्नु पनि भएका लोकेन्द्रबहादुर चन्द र नवराज सुवेदी हाम्रा माझ हुनुहुन्छ ।
राष्ट्रिय पञ्चायत र सरकारमै रहेर त्यसलाई देख्ने, भोग्ने केशरबहादुर विष्ट, प्रकाशचन्द्र लोहनी, पशुपति समशेर, कमल थापाहरू हुँदै हुनुहुन्छ ।
त्यसलाई बाहिरबाट पत्रकारको आँखाबाट सूक्ष्म अध्ययन र विश्लेषण गर्ने होमनाथ दाहाल, हरिहर विरही, पुरुषोत्तम दाहाल, हरिविनोद अधिकारी, किशोर नेपालहरू हुँदै हुनुहुन्छ ।
वीपीले भन्नुभएका ती कुरा झल्झली सम्झिने थुप्रै काङ्ग्रेस नेता –कार्यकर्ता हुँदै हुनुहुन्छ !
४. जनमत सङ्ग्रहबाट विजयी पञ्चायत १० वर्ष पछिनै ढल्यो !
हजारौँ व्यक्तिहरूले पंचायतको नाउमा सत्ता, सुख, सम्पत्ति भोगे,
तर पंचायत ढले पछि त्यसको नाउमा आँशु बगाउने एक जना पनि निस्किएनन् ।
जनताले भोट दिएर जिताएको पञ्चायत यसरी ढाल्न पाइन्न,
हामी यसो हुन दिन्नौ भनेर एक जना पन्च पनि अघि आएनन् ।
पार्टी व्यवस्था आएपछि ३० वर्ष आफूले सत्ता–सुविधा भोगेको पंचायतको नाउमा पार्टीसम्म खोल्ने हिम्मत पनि कसैले गरेनन् ।
५. यो संविधान र पंचायती संविधान उस्तै हो ।
लक्ष विहीन, केन्द्र विहीन, मूल्यविहीन र राजनीतिक संस्कृति विहीन !
यो संविधानको पनि केन्द्र छैन,
यो व्यवस्था संसदीय होइन, संसद प्रभुसत्तासम्पन्न होइन , छैन !
व्यवस्था संसदीय भए र संसद प्रभुसत्ता सम्पन्न भए संसदले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नसक्ने,
त्यसपछि ल्याएर असफल भए फेरी अर्को एक वर्ष ल्याउन नपाइने हुन्न !
संसदमा वहुमतलाई नेतृत्व गर्ने दलको सरकारले संसद भंग गर्न नपाउने तर संसदको कुनै एक्लो कुनै दलको सदस्य नरहेको स्वतन्त्र सदस्यलाई पनि राष्ट्रपतिले आफ्नो स्वविवेकले प्रधानमन्त्रीमा नियुक्त गर्न पाउने र उसले तोकिएको अवधि भित्र विश्वासको मत नपाए संसद विघटन गर्ने र नयाँ चुनावको घोषणा गर्नसक्ने व्यवस्था संसदीय व्यवस्थाको मात्रै होइन,
यो प्रजातन्त्रको मूलभूत मान्यताको पनि विरूद्ध हो ।
मैले बारम्बार भन्दै लेख्दै आएको हो– संविधानले समाजवादलाई आफ्नो लक्ष बताएको छ,
समाजवाद उन्मुख बताएको छ !
संविधानले जब समाजवादलाई अङ्गिकार गर्दछ, राज्य समाजवादी बन्दछ – समाजवादी राज्य भनेको साम्यवादी राज्य हो !
राज्य साम्यवादी बन्न सक्यो सकेन अर्को कुरा हो तर संविधानले त स्वीकार गर्यो !
दलले आफ्नो विधानमा समाजवादलाई लक्ष बतायो भने दल समाजवादी हुन्छ –उसको लक्ष आर्थिक समाजवाद हुन्छ क्ष्
र राष्ट्रको संविधानले समाजवादलाई लक्ष बतायो भने त्यो राजनीतिक समाजवाद ––अर्थात साम्यवाद हुन्छ !
६. भन्दा संसदीय व्यवस्था भन्ने,
तर संसदीय सर्वोच्चतालाई अस्वीकार गरेर माथि उल्लेखित ढाँचाको संविधान आयो,
समाजवादलाई लक्ष बताएर संविधान आयो र संविधान आएपछिको पहिलो आम निर्वाचन हुँदा नहुँदै अनपेक्षित र अकल्पनीय तरिकाले दुई विपरित मूल्य, अभ्यास र संस्कृतिका दल यौटै बन्यो, बनाइयो ।
बाह्र बुँदेलाई छोड्ने हो भने पनि त्यसअघि काङ्ग्रेस र माओवादी यौटै सरकारमा र चुनावमा माओवादीको पक्षमा काङ्ग्रेस आधिकारिक निर्णय गरेर भोट मागिदिने, भोट हालिदिने, लगायतका विचित्रका अभ्यासपनि भए ।
७. एउटा अर्को पाटो छ ।
माओवादी विद्रोह कसरी शुरू भयो ?
कसरी विकास भयो ?
कहाँ कसरी सम्झौतामा पुगेर विद्रोह टुंगियो ?
कसरी सत्ता साझेदारी गरियो– गराइयो ?
कसरी संविधान बन्यो र कसरी माओवादीलाई मूल राजनीतिक शक्ति बनाइयो ?
कसरी काङ्ग्रेस, एमाले, राप्रपा, मधेशवादी सवै दल माझ, सवै समूह माझ,सवै अन्तर्राष्ट्रिय शक्ति माझ माओवादीलाई सहज र ग्राह्य बनाइयो ।
संसदको नियन्त्रण बाहिरको सरकार,
समाजवादी संविधान र संविधानमा जस्तो सुकै परिवर्तन गर्न सक्ने दुई तिहाईको कम्युनिस्ट पार्टीको सरकारलाई कुनै म्यान्डेट थियो होला नी !
एमाले, माओवादी र समाजवादी ( माओवादी र एमाले पृष्ठभूमिकै मानिसहरूबाट बनेको उपेन्द्र यादव नेतृत्वको समाजवादी दल) आपसेआप जुटेर सरकारमा पुगे होलान ?
एमाले –माओवादी पार्टी एकताको पृष्ठभूमिमा माधव नेपालको चीन, उत्तर कोरिया भ्रमण,
पछि प्रधान मन्त्रीको दक्षिण अमेरिकाका महत्वहीन मुलुकहरूको भ्रमण,
नेकपा नेतृत्वले धुमधामका साथ लिएको सी जिन पिङ्ग विचारधाराको प्रशिक्षण अनि चीनियाँ राजदुतको ऐतिहासिक सक्रियतासँगै कतै एमसीसी कतै बेल्ट रोड, कतै भेनेजुवेला. सन्दर्भ ,
नक्सा विवाद ,
सिंह मेव जयते घोषणा ,
ठोरी अयोध्या प्रसङ्ग अनि सामन्त गोयल र नरवाणे भ्रमण आदि घटनाक्रम जोडिदै आएको वर्तमान !
८. कारण र परिवेश फरक होलान , तर अहिलेसम्मका नेपालका सवै संविधानहरूले अपमानजनक मृत्यू रोजेका छन् ।
अनाथ भएर तिनले मृत्युवरण गरेका छन् !
तर ४७ सालको संविधानको हकमा बाहेक अन्य सवै संविधानमा मूलतः समानरूपमा एउटा कारण छ –– त्यो भनेको संविधान बनाउने ,जारी र घोषणागर्नेको अहं र तुजुक !
त्यसले संविधानलाई दीर्घजीवी हुन नदिएको मात्रै होइन, स्वामित्व विहीन र अनाथ पनि बनाएको छ !
लाग्दछ अबको पालो २०७२ को संविधानको हो !
त्यसैले यो व्यवस्था र संविधानकोबारे !
हरेक अघिल्लो संविधान र त्यसले निर्माण गरेको राज्य व्यवस्थालाई अपमानजनक मृत्युवरण गर्न वाध्य पार्दै आएको संविधान र राज्य व्यवस्थाको परम्परामा वर्तमानको हकमा पनि त्यही विगत दोहोरियो भने अन्यथा होला र ?
संविधानका निर्माता र प्रवक्ताहरूको दावी, घोषणा र अभ्यास हेर्नोस् त !
अनि मरेको घोडामा चाबुक हानेर के गर्ने ?
अनि अर्को तिर ,
मुलुकको केन्द्र, लक्ष, वारेश सवै हराएको अवस्थामा काङ्ग्रेस यस्तो !
सुखद देखिन्न , मुलुकको भविष्य !
र सत्यलाई नदेख्ने, नबुझ्ने, ग्रहण गर्ने हुती नभएका , सडकले दिने ज्ञान र समझ भन्दा ठूलो अर्को केही नदेख्ने हाम्रो हाम्रो नियति पनि सम्भवत यस्तै यस्तै हो !