विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ । अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड–१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन् ।
अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन् । कोभिड–१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो । त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ ।
यसै वर्षको मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै भएको जनाएको थियो । उसले त्यसबारे थप अध्ययन जरुरी भएको पनि बताएको थियो ।
तर कैयौँ प्रश्न अझै अनुत्तरित रहेको बताइन्छ । अमेरिकी जासुसी सूत्रहरूको हवाला दिइएका विवरणहरूमा सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ ।
त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको विवरणमा बताइएको छ । यसै सन्दर्भमा डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताएका छन् ।
बेइजिङले भने ती विवरणहरूलाई क्रुद्धतापूर्ण रूपमा खारेज गरिदिएको छ । उसले भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ । मङ्गलवार डब्ल्यूएचओको बैठकमा बोल्दै बेसेराले चीनको नाम नलिकनै अमेरिकाले अर्को चरणको छानबिन थप सघन हुने आशा गरेको बताए । मङ्गलवार ह्वाइट हाउसले पनि उसले डब्ल्यूएचओबाट विज्ञहरूद्वारा सञ्चालित अनि राजनीतिकरणबाट मुक्त ढङ्गले महामारीको उत्पत्ति छानबिन गर्ने आशा गरेको जनाएको छ ।
प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने भनाइलाई गत वर्ष षड्यन्त्रको सिद्धान्त मानिएर खारेज गरिएको थियो । त्यति बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट फैलिएको भन्ने भनाइ राखेका थिए । कैयौँ अमेरिकी सञ्चारमाध्यमले उनको दाबीलाई झुटो भनेका थिए।
पछिल्ला विवरणहरूप्रति ट्रम्पले प्रतिक्रिया जनाएका छन् । उनले मङ्गलवार न्यूयोर्क पोस्टलाई एक इमेल लेख्दै आफूलाई ‘उक्त विषय शुरूमै थाहा भएको तर सदाझैँ निकै आलोचित हुनुपरेको’ भनेका छन्।