काठमाडौँ । पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ । सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहेका न्यौपानेको बुधबार राति निधन भएको हो ।
शुरुमा कोभिड सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए । वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना भएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।
अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिलेटर राखेर उपचार गराइएको छोरा मदनले बताए । मदनका अनुसार न्यौपानेको पछिल्लो कोभिड रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो ।
छेडागाड नगरपालिका–६ सुवानाउलीका न्यौपाने विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा थिए ।