काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफूमात्र भएको बताएका छन् ।
शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा उपाध्यक्ष गौतमले नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा रहेको बताएका हुन् ।
उनले भने, ‘ विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’
उनले २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड भएको उल्लेख गरेका छन् ।