काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले ‘मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल’(एमसीसी) आयोजनालाई बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम भएको बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत रावलले संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम भएको बताएका हुन् । उनले यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूलाई विरोध गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो । यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं!’
नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो ।यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं!
— Dr. Bhim Rawal (@BhimRawal179) May 30, 2021
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा एमसीसी आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षमा सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेटमा कार्यक्रम समावेश गरेको छ ।
‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागेको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित संयन्त्र हो ।
चालु आर्थिक वर्षमा पनि सरकारले बजेटमा यो कार्यक्रम कार्यान्वयन गर्न १० अर्बभन्दा बढी बजेट विनियोजन गरेको थियो । त्यसमध्ये आगामी असारसम्म ५ अर्ब १५ करोड ६३ लाख खर्च हुने संशोधित अनुमान छ ।
चालु वर्षमा विनियोजन भएकोमध्ये नुवाकोटको रातमाटेमा ३८५ रोपनी जग्गा किन्न करिब १ अर्ब ३५ करोड मात्रै खर्च भएको छ । त्यसबाहेक कार्यालय र कर्मचारी व्यवस्थापनमा पनि खर्च भएको छ । खर्ब गर्न नसकेर ८ अर्ब रुपैयाँभन्दा बढी बजेट फ्रिज हुने अवस्था छ ।