काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई अलग अलग बस भनेपछि अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् ।
आइतबार सर्वोच्चको संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी बहसमा भाग लिँदै थापाले इजलासको मर्यादा र सजावटलाई ख्याल गर्नुपर्ने बताएका हुन् । संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएकोप्रति कानुन व्यवसायीले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आफ्नो विकल्प दिन भनेका थिए।
त्यसको जवाफमा वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिएका छन् । उनले भने, ‘उहाँको विकल्प नभएको होइन। यहाँसम्म नेकपा विवादबाटै आएको हो। आज यहाँ माधव नेपाल, पुष्पकमल दाहाल निवेदक भएर आएका छन्। प्रश्न कहाँ–कहाँ आयो भन्ने फरक कुरा हो।’
उनले भारतको उदाहरण दिँदै प्रधानन्यायाधीशलाई बिदामा बस्न सुझाव दिए। थापाले भने,‘भारतमा न्यायाधीश दीपक मिश्रमाथि पनि प्रश्न आएपछि आफूबाहेक राखेर इजलास गठन गरेर फैसला भएको थियो। फैसला चाहिन्छ भने म दिन्छु। प्रधानन्यायाधीशलाई अधिकार छ। तपाईंको विकल्प के छ भन्नुभयो, बिदामा बस्नुस्।’
नेकपा नाम विवादसम्बन्धी मुद्दाको फैसला गरेका न्यायाधीश श्रेष्ठलाई प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा राख्न नहुने कानुन व्यवसायीहरुको माग छ ।