भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति दिएका हुन् । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ । गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ ।
यो सहित भियतनाममा छ हजार ५७७ जना संक्रमित भएका छन् । सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो । यसैबीच, चीनमा बुधबारसम्म ७० करोड ४८ लाख डोज खोप लगाइएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।