काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनर्गठन गरेको जिकिर गरेका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिद्वारा शनिबार आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष प्रचण्डले शुक्रबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनलाई असंवैधानिक भनेका हुन् ।
उनले साम्राज्यवादविरुद्ध अझै लडाइँ बाँकी रहेको समेत बताए । उनले भने, ‘नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ । समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ।’
उनले यतिबेला कोरोना महामारीविरुद्ध सबै एकताबद्ध भएर जुध्न पनि अनुरोध समेत गरे। साथै संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बिचमा पुर्याउन शिक्षकहरुलाई आग्रह समेत गरे । शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको समेत उनले बताए ।