काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई संवैधानिक इजलासबाट बाहिरिन आग्रह गरेका छन् । दुवै न्यायाधीशले जेठ १८ गते दिएको रायले सरकारी पक्षलाई निष्पक्ष न्याय सम्पादन हुनेमा आशंका उब्जिएको भन्दै महान्यायाधिवक्ता बडालले उनीहरुलाई इजलासबाट बाहिरिन आग्रह गरेका हुन् ।
उनले भने, ‘पूर्वाग्रहको आशंका भए पुग्छ भन्ने आनन्दमोहन श्रीमानले नै लेख्नुभएको छ । हामीलाई यो इजलासमा आशंका छ ।’ महान्यायाधिवक्ता रमेश बडालले अदालतले स्थापित गर्न खोजेको न्यायिक परम्परा के हो भन्दै आक्रोश पोखेका थिए । प्रधानन्यायाधीशले आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए ।
संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् । प्रधान न्यायाधीशको नेतृत्वमा गठन गरिएको इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेको मध्येका वरिष्ठ हुन् । आफूमाथि प्रश्न उठे पनि संवैधानिक इजलासमा बस्ने राय दिएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छैन ।