बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारिहरूले गरेको आक्रमणमा करिब एक सय जना मारिएको राष्ट्रपति रोक कबोरेले बताएका छन् । शुक्रवार राति सोल्हान गाउँमा छापा मारिएको र त्यहाँ घर तथा बजारमा आगजनी गरिएको सरकारी भनाइलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ ।
हालसम्म आक्रमणको जिम्मा कसैले पनि लिएको छैन। तर पछिल्ला दिनहरूमा त्यहाँ इस्लामी समूहहरूको हमला सामान्य हुँदै गएका छन् । खासगरी नीजेर र मालीसँग जोडिएका क्षेत्रमा त्यस्ता घटनाहरू सामान्य भइरहेका छन् । बुर्किना फासोले आफ्ना छिमेकी राष्ट्रहरूमा जस्तै गहिरिँदै गएको सुरक्षा सङ्कटको सामना गरिरहेको छ ।
उक्त क्षेत्रमा शस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् । फ्रान्सेली फौजले माली, चाड, मोरीटेनीया, नीजेर र बुर्कीना फासोका सैनिकलाई अतिवादीहरूसँग लड्न सहयोग गरिरहेका छन् । तर हालसालै भएको कु का कारण फ्रान्सले यसै हप्ता मालीलाई गरिरहेको सहयोग भने रोकेको छ।