काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले पार्टीलाई एकतावद्ध बनाउन दोस्रो पुस्तालाई नेतत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
सोमबार सामाजिक संजालमार्फत आचार्यले केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र अमृत बोहोरा जस्ता प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
उनले नेताहरुले अहंकार, घमण्ड,चरम महत्वकांक्षा, ईष्र्या, लघुताभास र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउदै परिवर्तनकारी शक्तिको रुपमा अगाडि बढाउन सहयोग गर्नुपर्ने बताएका छन् ।
त्यस्तै पार्टीलाई सामूहिक नेतृत्व, नीतिको मार्गदर्शन र विधिको व्यवस्था अनुरुप संचालन गर्नुपर्ने उनले बताएका छन् । आचार्यले पार्टीलाई एकतावद्ध बनाउन २०७७ फागुन २३ को अदालतको निर्णय पछि भएका सबै खाले गुटगत निर्णयहरु खारेज गरि माहाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन या प्रकृयाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्नुपर्ने बताएका छन् ।