उत्तर कोरियाले देशमा हालै विदेशी प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजाय भएको कानुनहरू लागु गरेको छ ।
युन मी–सोले ११ वर्षको हुँदा दक्षिण कोरियाली चलचित्रसहित पक्राउ परेका व्यक्तिलाई मृत्युदण्ड दिइएको देखेको बताउँछिन् । मृत्युदण्ड सारा समुदायलाई हेर्न भनिएको थियो । उत्तर कोरियाली सैनिकहरूले सबैलाई गैरकानुनी भिडियो लुकिछिपी ल्याएमा हुने सजायको बारेमा जानकारी दिन चाहन्थे ।
‘म अझै पनि पट्टि बाँधिएको आँखाबाट आँसु बहिरहेको सम्झन्छु। मेरो मनमा त्यो आघात पुग्ने घटना थियो। पट्टि आँसुले भिजेको थियो।’ ‘उनीहरूले उसलाई बाँधे र गोली हाने।’ कल्पना गर्नुहोस् कि तपाईँ नियमित लकडाउनमा हुनुहुन्छ, तपाईँसँग इन्टरनेट वा सामाजिक सञ्जाल छैनन् र टिभीमा राज्य नियन्त्रित केही च्यानल आउँछन् जसमा नेताहरूले तपाईँलाई सुनाउन चाहेका कुरा मात्रै बज्छन्। यो उत्तर कोरियाको जीवन हो । र अब त्यहाँका नेता किम जङ–अनले यसलाई थप कडा बनाएका छन्।
उनले ’प्रतिक्रियावादी सोच’विरुद्ध भनेर नयाँ कानुनहरू लागु गरेका छन् । अब दक्षिण कोरिया, अमेरिका वा जापानका चलचित्रको ठूलो सङ्ख्यासहित पक्राउ परेकाहरूलाई मृत्युदण्ड दिइने छ। हेर्नेलाई मात्रै पनि १५ वर्षको जेल शिविर तोकिएको छ । र ती कानुन हेर्ने कुरामा मात्रै सीमित छैनन् ।
हालै किमले सरकारी मिडियामा एउटा पत्र लेख्दै युथ लीगलाई युवाहरूको ‘एकाङ्की र असामाजिक व्यवहार’लाई नियन्त्रण गर्न भने। उनले ’खतरनाक विष’ भन्दै विदेशी भाषा, कपाल काट्ने तरिका र लुगा रोकिनु पर्ने बताए । उत्तर कोरियाभित्र स्रोत भएको सोलको अनलाइन पत्रिका डेली एनकेको समाचार अनुसार हालै तीन युवालाई के–पप गायकको जस्तो कपाल काटेको र पाइन्ट कुर्कुच्चोमाथि हुने गरी लगाएको आरोपमा पुनः शिक्षा शिविरमा पठाइयो। बीबीसीले यो कुरा पुष्टि गर्न सकेको छैन ।
देशभित्र जनजीवन कठिन बनिरहँदा मानिसहरूसम्म बाहिरी खबरहरू नपुगोस् भन्ने किमले चाहेको हुनसक्ने विश्लेषकहरू बताउँछन्। उत्तर कोरियामा लाखौँ मानिसहरूलाई दुई छाक राम्ररी खान नपुग्ने बताइन्छ। नेता किमले भने उनीहरूलाई एशियाको धनी सहर सोलको जीवनको झल्को नमिलोस् भन्ने चाहन्छन्।
गत वर्ष कोभिड महामारीका कारण सीमा बन्द गरिएपछि उत्तर कोरिया पहिलेभन्दा बाहिरी विश्वबाट छुट्टिएको छ। छिमेकी चीनबाट हुने अत्यावश्यक वस्तुहरूको आपूर्ति निकै कम भएको छ । त्यहाँ हतियार कार्यक्रममा धेरै पैसा खर्च गर्ने शासकको चाहनाले अर्थतन्त्र असफल हुँदै गएको मानिन्छ। यो वर्षको सुरुमा किमले ’आफ्ना नागरिकहरूले सबैभन्दा गाह्रो अवस्था भोगिरहेको’ स्वीकारेका थिए ।
डेली एनके सो कानुनको विवरण प्राप्त गर्ने उत्तर कोरिया बाहिरको पहिलो सञ्चारमाध्यम हो । त्यसका प्रधान सम्पादक ली साङ योङले बीबीसीलाई भनेः “यसमा कुनै कामदारलाई आरोप लागेमा उद्योगको प्रमुखलाई सजाय हुनसक्ने र कुनै बालक समस्याकारी भएमा अभिभावकलाई सजाय हुनसक्ने भनिएको छ। उत्तर कोरियाले प्रोत्साहन गरिरहेको एकअर्काको निरीक्षण गर्ने सिद्धान्तलाई यसले अँगालेको देखिन्छ।“ उनले यो कानुनको उद्देश्य दक्षिण कोरियाको बारेमा त्यहाँका युवाले देख्ने सपनालाई तोड्नु हो।