
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा भट्टले ३० मत पाएका छन् । त्यस्तै विपक्षमा ९ मत परेको छ । त्यस्तै १२ जना सांसद तटस्थ बसेका छन् । संसद बैठकमा ५१ सांसद उपस्थित थिए । मत विभाजनमा कांग्रेस सांसद तटस्थ बसे भने नेकपा एमालेको ओली पक्ष र जसपाका सांसदले विपक्षमा मतदान गरेका थिए ।
भट्टलाई नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिएको थियो । एमालेमा नेपाल पक्ष र केपी ओली पक्षबीच विवाद छ । मंगलबार बिहान बसेको पार्टीको प्रदेश संसदीय दलको बैठकले भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
त्यसमा ओली पक्षका सांसदले विमति जनाएका थिए । केन्द्रले भट्टलाई मत नदिन दिएको निर्देशन नेपाल पक्षका सांसदहरुले उल्लंघन गरेका हुन् । यसअघि नेपाल पक्षले कर्णालीमा पनि पार्टीको ह्वीप उल्लंघन गरी माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिएको थियो ।