संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ) ले आर्थिक रूपमा समृद्ध राष्ट्रहरूले तुलनात्मक रूपमा विपन्न राष्ट्रहरूमा एकै पटक ठूलो मात्रा बाँकी रहेका खोप पठाए लाखौँ मात्रा खोप खेर जानसक्ने चेतावनी दिएको छ ।
आर्थिक रूपमा कमजोर राष्ट्रहरूसँग एकै पटक ती खोप प्रयोगमा ल्याउनका लागि श्रोतको अभाव रहेका कारण क्रमिक रूपमा खोप उपलब्ध गराइनुपर्ने यूनिसेफले जनाएको छ । वेलायतसहित अन्य केही मुलुकहरूले आफूसँग मौज्दात रहेको बाँकी खोप दिने वाचा गरेका छन् । तर उनीहरूलाई अलि अगावै खोप दिन आग्रह गरिएको छ ।
बीली आएलीस र डेभिड बेकम जस्ता प्रख्यात व्यक्तित्वहरूले यूनिसेफको आग्रहमा समर्थन जनाएका छन् । उनीहरूले जी ७ भनेर चिनिने विश्वका महत्वपूर्ण सात अर्थतन्त्रहरूलाई हस्ताक्षर सहितको पत्र पठाएका छन् जसमा वेलायतसहितका राष्ट्रहरूलाई उनीहरूसँग रहेको २० प्रतिशत खोप अगस्ट महिनासम्ममा दिइसक्न आग्रह गरिएको छ ।
पत्रमा हस्ताक्षर गर्ने अन्य ख्यातिप्राप्त व्यक्तित्वहरूमा यान्डी मरी, एलीभीया कोलमन, युएन मगग्रेग, लिएम पेन, प्रियङ्का चोपडा जोनस, ओल्यान्डो ब्लुम, केटी प्यारी, जेमा च्यान, उपी गोल्डबर्ग, क्लोडिया सीफर र क्रिस होए छन् ।
यूनिसेफमा खोप सम्बन्धी विषयको नेतृत्व गरिरहेकी लीली कप्रानीले बीबीसी न्यूजनाइटसँग कुरा गर्दै राष्ट्रहरूले विश्वका अन्य मुलुक सँगसँगै आफ्ना देशवासीहरूलाई खोप दिनुपर्ने बताइन्।
उनले भनिन्, ‘कुनै न कुनै विन्दुमा हामीले १८ वर्ष भन्दा मुनिका मानिसहरूलाई खोप दिनुपर्ने हुन्छ। यसमा कुनै दुबिधा छैन ।’ तर गत हप्ता ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककले वेलायतको प्राथमिकतामा अन्य देशहरूमा खोप पठाउने भन्दा पनि आफ्नो देशका बालबालिकाहरूलाई उपलब्ध गराउने रहेको बताएका थिए ।
अन्य देशहरू भन्दा फरक वेलायतले कोभ्याक्सलाई खोपको कति मात्रा दिने छ भन्ने योजना खुलाएको छैन । वेलायतले आफूसँग रहेको अतिरिक्त मात्रा उपलब्ध गराउने मात्रै भनेको छ । ख्याति कमाएका व्यक्तित्वहरूले यूनिसेफले आर्थिक रूपमा विपन्न राष्ट्रहरूमा खोप दिइरहेको तर ऊसँग आवश्यकता भन्दा १९ करोड मात्रा कम रहेको आफ्नो पत्रमा उल्लेख गरेका छन्।
वेलायतले विभिन्न खोपको ४० करोड मात्रा मगाइसकेको छ। उसले आफ्नो जनसङ्ख्याको ठूलो हिस्सालाई खोप उपलब्ध गराइसकेको छ । तर केही देशहरूले भने हालसम्म पनि खोपको पहिलो ढुवानीको प्रतीक्षा गरिरहेका छन्। धेरै गरिब राष्ट्रहरू कोभ्याक्सबाट प्राप्त हुने खोपमा भर परिरहेका छन् ।
केही राष्ट्रहरूले यो वर्षको अन्त्य सम्ममा खोप दिने वाचा गरेका छन् तर विश्व स्वास्थ्य सङ्गठनले उनीहरूलाई आफूसँग रहेको खोप तत्काल बाँड्न सुरु गर्न भनेको छ।