
धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा एमालेको केपी ओली पक्षका सात जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको संसदीय दलको बैठकले ओली पक्षधर ७ सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो । निलम्बन गरिएका सांसदमा पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपालु चौधरी र ग्याल्बोसिंह बोहरा रहेका छन् ।
उनीहरुमध्ये बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अन्य चार जनालाई ७ दिन निलम्बन गर्ने निर्णय गरिएको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी कामीले जानकारी दिइन् ।
जेठ २५ गते मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णयका विरुद्ध अध्यक्ष ओली पक्षधर उनीहरुले दलको ह्वीप उल्लंघन गरेका थिए । त्यस अभियोगमा उनीहरुलाई दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टिकरण सोधेका थिए । आइतबार निर्णयार्थ पेश भएको नीति तथा कार्यक्रमको समेत उनीहरुले विपक्षमा मत जाहेर गरेका थिए ।