काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीमा सिफारिस गरेको छ । सर्वाेच्च अदालत बार एशोसिएशन कार्य समितिको मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई अदालतको सहयोगीका रुपमा रहने एमिकस क्युरीमा सिफारिस गरेको हो ।
प्रतिनिधि सभा विघटनको रिटमा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृतवको संवैधानिक इजलासले शेरबहादुर देउवाको निवेदनमा सुनुवाइ गर्दै जेठ २६ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो भने नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको थियो ।
आदेशअनुसार सर्वोच्च बारले मुद्दामा राय दिन दुई कानुन व्यवसायीको नाम टुंगो लगाएको हो । सर्वोच्चको आदेशमा अदालतका सहयोगी एमिकस क्युरी लगायत निवेदक तथा प्रत्यर्थी तर्फका कानून व्यवसायीहरु (सरकारी वकिल सहित)लाई असार १० गतेभित्र लिखित बहस नोट पेश गर्न पनि भनिएको छ।