
इजरायली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायलले हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरेलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको उल्लेख गरेका छन् ।
हमासको एउटा रेडियो स्टेसनले एउटा तालिम केन्द्र पनि निशानामा परेको जनाएको छ । उक्त उग्रवादी समूहले जेरुसलेममा भएका प्रदर्शनका कारण मङ्गलवारलाई आक्रोशको दिन भनेको थियो ।
बुधबार सबेरै गाजामा विस्फोटनका आवाजहरू सुनिएका थिए । यसअघि आगलागी गराउने क्षमता भएका बेलुन बम पनि भनिने कैयौँ बेलुनहरू गाजाबाट मङ्गलवार इजरायलतर्फ पठाइएका थिए । दुवै पक्ष मे २१ मा लडाइँ अन्त्य गर्दै युद्धविराम गर्न सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो ।
एउटा विज्ञप्तिमा इजरायली डिफेन्स फोर्सले हमासको खान युनिस र गाजा सिटीमा रहेका सैन्य हाताहरूमा उसका लडाकु जेटहरूले आक्रमण गरेको उल्लेख गरेको छ । ती परिसरमा आतङ्कवादी गतिविधि भएको भन्दै उसले आइडिएफ निरन्तर गाजा स्ट्रिपबाट भएका त्यस्ता कार्य रोक्न सबै परिस्थितिका लागि तयार रहेको उल्लेख गरिएको छ ।
हवाई आक्रमणहरूले गराएको हताहातीबारे प्रस्ट भइसकेको छैन । इजरायलको अग्नि सेवाले यसअघि गाजाबाट पठाइएका आगलागी गराउने क्षमताका बेलुनहरूका कारण दक्षिणी इजायलमा कम्तीमा २० वटा आगलागी भएका उल्लेख गरेको थियो । पूर्वी जेरूसलेममा इजरायली राष्ट्रवादीहरूले मङ्गलवार गरेको र्यालीको विरोधमा कदम चाल्ने पनि चेतावनी दिएको थियो ।
उक्त र्याली सन् १९६७ मा इजरेलले पूर्वी जेरुसलेम कब्जा गरेको सन्दर्भमा आयोजना गरिएको थियो । मे महिनाको प्रारम्भमा नै आयोजना गर्ने योजना बनाइएको भएपनि प्रहरीले अनुमति नदिएपछि र हमासको चेतावनी आएपछि केही ढिला भएको थियो ।