चीनले पठायो अन्तरिक्ष स्टेशनमा राख्न तीन अन्तरिक्षयात्री

Spread the love

चीनले बिहीबार आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्नेगरी तीन अन्तरिक्षयात्रीलाई पठाएको छ । निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट ३८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताउनेछन् ।

पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो । बिहीबार चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् ।

बेइजिङ समयानुसार बिहान ९ः२२ मा गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट सो रकेट प्रक्षेपण गरिएको हो । यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको छ । गएको छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा छपाङ्ग्रे यान उतारेको छ। यी दुवै काम जटिल र चुनौतीपूर्ण बताइएको छ ।

निहको नेतृत्वमा रहेको मिशनको प्रमुख उद्देश्य २२.५ टनको चिनियाँ अन्तरिक्ष स्टेसनलाई सक्रिय बनाउने रहेको छ । तियन्गोङको १६.६ मिटर लम्बाइ र ४.२ मिटर चौडाइ भएको मूल अंश यसअघि नै अन्तरिक्षमा पुर्याइएको थियो । अन्तरिक्ष स्टेशन पूर्ण हुँदा लगभग ७० टनको हुने र त्यसमा आवास, विज्ञान प्रयोगशाला र ठूलो टेलिस्कोप समेत रहनेछ ।

त्यसका थप अंशहरू आउँदा दुई वर्षमा पटकपटक यात्रुसहित वा यात्रुविहीन गरेर पठाइने योजना छ । बुधवार पत्रकार सम्मेलन अगाडिसम्म चिनियाँ अन्तरिक्षयात्रीहरूको नाम प्रकाशित गरिएको थिएन ।

५६ वर्षीय निह अन्तरिक्षमा जाने सबैभन्दा बढी उमेरका यात्री हुन् । उनी हालसम्म दुई पटक अन्तरिक्ष यात्रामा गइसकेका छन्। उनी सन् २०१३ मा १५ दिनका लागि अन्तरिक्षयात्रामा गएका थिए । उनका सहयात्री ५४ वर्षीय लिउ र ४५ वर्षीय थङ दुवैजना पूर्वसैनिक हुन् । लिउसँग सन् २००८ मा पनि अन्तरिक्षमा गएका थिए ।

थङ पहिलो पटक अन्तरिक्षमा गएका हुन् । सन् २०१९ मा चीन चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा यान अवतरण गराउने पहिलो राष्ट्र बन्यो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन योजनामा सहभागी नगरिएकोले चीनले आफ्नो छुट्टै स्टेशन निर्माण गरेको हो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकाको नेतृत्वमा रुस, युरोप, क्यानडा र जापान समाविष्ट छन् । चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महोत्तरीमा सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

२०७८ असार ३, बिहीबार ११:१४
Spread the loveमहोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स (सुनचाँदी पसल) सञ्चालन गरेका स्थानीयवासी वीरेन्द्र […]