दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या घट्दै गएको छ । दक्षिण कोरियाका अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने सङ्क्रमितको संख्यामा कमी आएको बताएका हुन् ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले त्यहाँ पछिल्लो २४ घन्टामा ५०७ जना मात्र सङ्क्रमित भेटिएका जानकारी दिएका छन् । दक्षिण कोरियामा बुधबार ५४० जना सङ्क्रमित भेटिएका थिए । त्यो भन्दा अघिल्लो दिन ५८० जना सङ्क्रमित भेटिएका थिए । यसअघिका हप्ताहरुका तुलनामा कोरियामा सङ्क्रमितको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । त्यहाँ अहिले पनि सबैभन्दा बढी सङ्क्रमित राजधानी सोलमा देखिने गरेका छन् ।
गएको वर्षदेखि नै कोरियामा सबैभन्दा बढी संक्रमित राजधानी सोलमा देखिएका हुन् । बिहीबार देखिएका सङ्क्रमितहरुमध्ये पनि सबैभन्दा धेरै राजधानी सोलमा १९७ जना देखिएको बताइएको छ । हालसम्म त्यहाँ १ लाख ५० हजार जना भन्दा बढी संक्रमित देखिएका छन् । त्यसैगरी त्यहाँ अहिलेसम्म करिब २ हजार जनाको कोभिड सङ्क्रमणबाट ज्यान गएको बताइएको छ ।