दमौली । नेपाली कांङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् । स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न शनिबार तनहुँको दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सक्षम नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेकामा जोड दिए ।
“मुलुक दुई ध्रुवमा विभाजित छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडी बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौ,” उनले भने, “हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।”
वरिष्ठ नेता पौडेलले राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताए । कार्यक्रममा उनले तनहुँका दश र लमजुङका एक स्थानीय तहलाई करिब ३५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सबै पालिकालाई एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर सहित फेसशिल्ड, मास्क, पिपिई लगायतका सामग्री हस्तान्तरण रिएको थियो ।
तनहुँका व्यास, शुक्लागण्डकी, भिमाद, शुक्लागण्डकी नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, म्याग्दे, घिरिङ, ऋषिङ र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । साथै तनहुँको दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका लागि पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला समन्वय समितिले संयोजन गरेको कार्यक्रममा ११ अक्सिजन कन्सन्ट्रेटर, फेसमास्क १३ हजार ५०, एन९५ मास्क एक हजार तीन सय ५०, पिपिई चार सय ४० लगायतका सामग्री हस्तान्तरण गरिएको जानकारी दिइएको थियो ।