इरानको राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित भएका छन् । इजरायलले इरानमा इब्राहिम रइसीलाई नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ । इजरायलको विदेश मन्त्रालयका एक प्रवक्ता लिओर हैअतले रइसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति बताएका छन् ।
ती प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आणविक गतिविधिहरू बढाउने भन्दै सजग गराएका छन् । आइतबार रइसीलाई इरानको नयाँ राष्ट्रपतिय चुनावको विजेता घोषणा गरिएको थियो । इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा हुन्छन् । इरानको चुनावको ढाँचा रइसीले जित्ने गरी बनाइएको आरोप लगाइएको छ । रइसीले अगस्ट महिनाबाट पदभार सम्हाल्नेछन्।
राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ । अहिले इरानका प्रधानन्यायाधीश रहेका रइसी अतिरूढिवादी विचार राख्छन् ।
अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ। उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए । चुनाव जितेपछि उनले सरकारप्रतिको जनविश्वासलाई बलियो पार्ने र पूरा देशको नेता बन्ने वाचा गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रइसीलाई बधाई दिँदै आफूहरूबीचको परम्परागत रूपमा रहेको मैत्री र राम्रो छिमेकीको सम्बन्धलाई स्मरण गरेका छन् । सिरिया, इराक, टर्की र यूएईका नेताहरूले रइसीलाई बधाई दिएका छन्।