काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
