इजरायलमा अध्ययनकर्ताहरूले एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात एक प्रकार पत्ता लगाएका छन् ।
राम्ला सहरनजिक भेटिएको अवशेष त्यस्तो प्रकारको प्राचीन मानवको अन्तिममध्येका एक व्यक्तिको हुनसक्ने अध्ययनकर्ताहरूको विश्वास छ । उत्खनन गरिएका जिवावशेषमा एक लाख २० हजार देखि एक लाख ४० हजार वर्षअगाडि जीवित रहेको मानवको खप्परको अंश र चिउँडो छन् ।
यसको विस्तृत विवरण साइन्स जर्नलमा प्रकाशित गरिएको छ । अध्ययनकर्ताहरूले ती व्यक्ति युरोपमा नीयान्डर्टालको पुर्खाका रूपमा सयौँ हजार वर्षअगाडि यो भूभागमा छरिएका प्रजातिको सन्तान हुनसक्ने विश्वास गरेका छन् । वैज्ञानिकहरूले आदिम मानवको यो नयाँ प्रजातिको वंशलाई ‘नेशर राम्ला होमो’ प्रकार भनेर नामकरण गरेका छन् ।
तेल अभिभ विश्वविद्यालयकी डा. हिला मेले यो खोजले नीयान्डर्टाल र मानव विकास क्रमसम्बन्धी विवरणलाई नयाँ आकार दिने बताइन् । नीयान्डर्टाल विकास क्रमलाई यसअघि युरोपसँग जोडिने गरिएको थियो । ‘यो सबै इजरेलमा सुरु भएको थियो। यहाँको स्थानीय समूह नै स्रोत जनसङ्ख्या भएको हामीले सुझाव दिएका छौँ,’ उनले भनिन्।
नेशर राम्ला मानिसहरूको लहर मध्यपूर्वबाट युरोपतिर सरेका थिए । नेशर राम्ला मानवको पहिलो पुस्ता चार लाख वर्ष अगाडि नै मध्यपूर्वमा रहेको अध्ययनकर्ताहरूको विश्वास छ। नयाँ खोजिएको प्रकार र नीयान्डर्टालको अघिल्लो पुस्ताका आदिम मानिसबीच समानता देखिएको उनीहरूले बताएका छन् । डा. मेले नेशर राम्लाहरू नीयान्डर्टालको पुर्खा हुनसक्ने बताइन् ।
उनले नेशर राम्लाहरू आदिम मानवका अन्य प्रकारसँग सन्तानोत्पादन गर्दै युरोपतिर गएको र अन्य समूहहरू एशियाका भारत र चीनतर्फ गएको हुनसक्ने बताइन्। नयाँ खोजिएको प्रकार र नीयान्डर्टालको अघिल्लो पुस्ताका आदिम मानिसबीच समानता देखिएको वैज्ञानिकहरूको दाबी छ । यसले एशियाका आदिम मानव र युरोपका नीयान्डर्टालबीचको सम्बन्धमा रहेको खाडल पनि पुर्ने उनले बताइन् ।
नेशर राम्लाको अवशेष भेटिएको स्थान आदिम मानिसहरू आवतजावत गर्ने स्थान थियो। यो क्षेत्रमा भेटिएका ढुङ्गाका हतियारहरूका कारण यो स्थान उनीहरूले सिकार खेल्ने स्थान हुनसक्ने बताइन्छ।