काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायालयले निर्णय गर्नुपूर्व नै त्यसबारे चर्चा गरिनुले शंका उब्जाएको बताएका हुन् ।
उनले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको विषयमा अघिल्लो दिन नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले यस्तो गर्देछ भनी अभिव्यक्ति दिएकाले न्यायालयको निष्पक्षता मााथि प्रश्न खडा भएको बताए ।
उनले भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलिपल्ट अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । न्याय निष्पक्ष निरुपण भयो कि अरुनै हिसाबले ? एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ, नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ?’
हरेक प्रणालीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफ्नै कामले प्रमाणित गर्नुपर्ने भन्दै उनले त्यसअघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको टिप्पणी गरे । उनले आफ्नो देशभक्तिप्रति सन्देह गर्नेहरु नै नेपालको राजनीतिमा विदेशीहरुको भूमिका चाहिरहेको दाबी गरे ।
हालै पाँचजना पूर्वप्रधानमन्त्रीले नेपालमा ‘बाह्य हस्तक्षेप हुनसक्ने’ विचार सार्वजनिक गर्नु र ती मध्येका एकजनाले एक टेलिभिजन बहसमा ‘नेपालमा सूक्ष्म व्यवस्थापन होइन, ठूला र नीतिगत विषयमा हस्तक्षेप गर्न’ आह्वान गर्दै विरोधाभाष एवम् हास्यास्पद अभिव्यक्ति दिएको कटु यथार्थ प्रस्तुत गर्दै आफूले राष्ट्रहित विपरीत कुनै काम नगरेको स्पष्ट गरे । ‘मैलै प्रजातन्त्र र संविधानविरुद्ध केही गरेको छैन,’ बाह्य हस्तक्षेप कदापि स्वीकार्य नहुने दोहोर्याउँदै प्रधानमन्त्रीले भने ।
फरक प्रसङ्गमा प्रधानमन्त्रीले आफूलाई लोकतन्त्रका हिमायती भन्नेहरूले राष्ट्रपतिलाई लाञ्छना लगाउने, अमर्यादित गतिविधि र व्यवहार गर्नुले गणतन्त्रप्रतिका वैरभाव मुखरित गरेको विश्लेषण सुनाए । राजनीतिक फैसला अदालतमा नभई राजनीतिक दलमा हुनुपर्ने आफ्नो मान्यता रहेको पनि प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले प्रजातन्त्र र संविधानकाविरुद्ध अराजकता ल्याउन खोज्नेविरुद्ध एकजुट हुन महन्थ ठाकुरलाई साथमा लिएको स्पष्ट पारे ।