अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले सर रिचर्ड ब्रानसनको कम्पनी भर्जिन गलाक्टिकको रकेट विमानलाई पैसा लिएर अन्तरिक्षसम्म यात्रु उडाउन अनुमति दिएको छ ।
यसअघि अन्तरिक्षसम्म विमानको परीक्षण उडान गर्न दिइएको अनुमतिलाई शुक्रवार अद्यावधिक गरिएको हो । वेलायतका व्यवसायी सर रिचर्ड ब्रानसनको कम्पनीबाट पृथ्वीबाट ९० किलोमिटर टाढा यात्रा गरेर अन्तरिक्षको छेउमा पुग्न ६०० यात्रुले पैसा बुझाइसकेका छन् । तिनीहरू धनाढ्यहरू र चलचित्र एवम् सङ्गीतका चर्चित अनुहारहरू रहेको बताइएको छ ।
भर्जिन गलक्टिकले अमेरिकाको न्यू मेक्सिको मरुभूमिमा रहेको स्पेसपोर्टबाट उडान भर्नेछ । मे २२ मा युनिटी नामक रकेट विमानको सफल परीक्षण गरेपछि एफएएले अनुमति दिएको हो ।
सो परीक्षण उडानको तथ्याङ्कले आवश्यक सबै प्राविधिक विकासहरू गरिएको देखाएको बताइएको छ । भर्जिन गलाक्टिकका प्रमुख कार्यकारी अधिकृत माइकल कोल्ग्याजिरले भने,‘हाम्रो लक्ष्य पूरा गरेको परीक्षण उडानको नतिजा देखेर हामी ज्यादै खुसी भएका छौँ।’
‘उडान त्रुटिरहित रह्यो र यसको नतिजाले हाम्रो उडान प्रणाली सुरक्षित र सहज रहेको देखायो। एफएएको व्यावसायिक उडानको अनुमति र हाम्रो मे २२ को सफलताले हामीलाई अबको गृष्म याममा पहिलो पूरै यात्रुवाहक उडान गर्ने आत्मविश्वास दिएको छ।’
अबको भर्जिन गलाक्टिकको उडानमा कम्पनीका चार कर्मचारी र दुई चालक हुने बताइएको छ । त्यसपछिको उडानमा भने सर रिचर्ड अन्तरिक्षमा लगेर व्यावसायिक उडानका लागि कम्पनी तयार रहेको उदाहरण दिइने बताइएको छ ।
त्यसपछिका उडानहरूबाट कम्पनीले नाफा कमाउने उद्देश्य राखेको छ। भर्जिन गलाक्टिकको केही उडानहरू इटलीको सेनाले बुकिङ गरेको छ । जुलाई ४ मा सर रिचर्ड अन्तरिक्ष उडानमा जाने हल्ला फैलिएको छ।
सो मिति अमेजनका मालिक जेफ बेजोस आफ्नो कम्पनीबाट अन्तरिक्षमा जान तय गरिएको जुलाई २० भन्दा अगाडि रहेको छ । तर कम्पनीका एक प्रवक्ताले सो हल्ला रहेको र अहिलेसम्म उडानका मितिहरू निश्चित नगरिएको बताएका छन् ।
सर रिचर्डले सन् २००४ मा पहिलो पटक अन्तरिक्षमा यात्रुवाहक उडानका लागि काम गर्ने घोषणा गर्दै सन् २००७ मा त्यस्तो उडान सुरु गर्ने बताएका थिए । तर प्रविधिको विकास गर्ने काम उनले सोचेजस्तो सजिलो नभएको देखिएको छ।