काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीय गठबन्धनकाबारेमा शंका नगर्न आग्रह गरेका छन् । शनिबार पत्रकारहरुसँगको अन्तरक्रियामा वरिष्ठ नेता नेपालले लोकतन्त्रको रक्षा गर्न बनेको गठबन्धनकाबारेमा शंका नगर्न आग्रह गरेका हुन् ।
उनले अहिलेको यो मुद्दा फिर्ता लिनेलगायतका प्रक्रियामा धोका नहुने पनि बताए । उनले भने, ‘यो प्रक्रियामा धोका दिने कुनै गुञ्जायस छैन । मुद्दा फिर्ता लिने काम हुन्न । माधव नेपालले धोका दियो भन्ने कुरा गलत हो । माधव नेपाल धोका दिने मान्छे होइन । लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनेको हो । गठबन्धनकाबारेमा शंका आशंका नगर्नुस् ।’
उनले आफूहरुको लडाइँ केपी ओली व्यक्तिविरुद्ध नभई प्रवृत्तिविरुद्ध भएको बताए । उनले भने, ‘केपी ओली व्यक्तिविरुद्ध नभई प्रवृत्तिविरुद्धको लडाइँ हो । ओलीजीमा पैसा, शक्ति र सत्ताको मात चढेका कारण यो अवस्था आएको हो । केपी ओलीको रुपमा नयाँ चरित्र पाएको छ देशले । पार्टी र सरकारमा समस्या आएपछि मान्छेले राजीनामा दिन्छन् । ओलीजी त कुर्सी छाड्नुपरे कुर्सी भाँचिदिन्छु भन्नुहुन्छ । यो पार्टीभित्रको विद्रोही आवाज हो, लोकतन्त्रका लागि संविधान बचाउनका लागि हो ।’
उनले संविधानको धारा ७६९५० ले सांसदहरुलाई स्वतन्त्रता दिएकाले यसमा विवाद गर्नुको औचित्य नभएको बताए । उनले केपी ओली सच्चिन नसक्ने नेता भएको बताए । उनले भने, ‘बालुवा पेलेर तेल निस्किन्न अझै पनि केही साथीहरु लाग्नु भएको छ बालुवा पेलेर तेल निकाल्न । तर निस्कदैन । धेरै पटकको धोकाधडीले वाक्कदिक्क भयौं हामी । तर म चाहन्छु कि मैले भनेको कुरा गलत सिद्ध होस्।’