चिनियाँ वैज्ञानिकहरूले नयाँ प्रजातिको मानवको हुनसक्ने प्राचीन खप्पर सार्वजनिक गरेका छन् । वैज्ञानिक टोलीले यो प्रजाति आधुनिक मानवको हालसम्म थाहा भएका नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरेको छ ।
ड्रागन म्यान उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा १ लाख ४६ वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ । सो खप्पर उत्तर–पूर्वी चीनको हार्बिनमा सन् १९३३ मै भेटिएको भए पनि वैज्ञानिकहरूले हालै मात्र पत्ता पाएका हुन् ।
सो खप्परको विश्लेषण द इनोभेसन जर्नलमा प्रकाशित भएको छ । वेलायतका मानव विकासविज्ञ प्राध्यापक क्रिस स्ट्रीङ्गर चिनियाँ खप्पर अध्ययन टोलीका एक सदस्य थिए ।
उनले गएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्वपूर्णमध्ये एक भएको बताए । अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनर्लेखन गर्न सक्ने सम्भावना बोकेको छ । उनीहरूको विश्लेषणमा यो प्रजाति नीयान्डर्टालभन्दा नजिक आधुनिक मानव प्रजातिसँग देखिएको छ ।
यो प्रजातिलाई उनीहरूले होमो लङ्गी नाम दिएका छन् । यो खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो छ र यसको मस्तिष्क हाम्रो प्रजातिको आकारको छ । ड्रागन म्यानको ठुलो र झन्डै चारकुने परेको आँखा, बाक्लो आँखीभौँ, चौडा मुख र ठूलो दाँत भएको देखिन्छ ।
वैज्ञानिकहरूले ड्रागन म्यान बलिष्ठ भएको अनुमान गरेका छन्। तर खप्पर पत्ता लागेको स्थानबाट हटाइएको भएका कारण यसका हतियार वा संस्कृतिका अन्य सामान पत्ता लागेका छैनन् । यो खप्पर सन् १९३३ मा सोङ्हुवा नदीमाथि पुल बनाउन खटिएका एक ज्यामीले भेट्टाएको बताइएको छ ।
सो समयमा यो सहर जापानीहरूको नियन्त्रणमा रहेको थियो र चिनियाँ ज्यामीले यो खप्परको पुरातात्विक महत्व हुनसक्ने अनुमान गरेर घर लगेर इनारमा हालेका थिए ।
सो इनारमा लगभग ८० वर्ष रहेको यो खप्परको बारेमा मृत्युको समयमा उनले परिवारलाई भनेका कारण वैज्ञानिकहरूको हात परेको थियो । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक मार्टा मिरोजन लहरले ड्रागन म्यान डेनीसोभन प्रजातिको हुनसक्ने आशङ्का गरेका छन् ।