काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।
शनिबार पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अदालतले संविधान, ऐन, नियमअनुसारनै फैसला गर्ने बताएका हुन् । आफूले धादिङमा सर्वोच्चले संविधान विपरितका कार्य खारेज गर्ने भनेको र त्यसको भोलिपल्ट २० मन्त्रीलाई पदमुक्त गरेको भन्दै उनले केपी ओलीले प्रचण्डले अदालतमा सेटिङ गर्यो भनी अफबाह फैलाएको बताए ।
उनले ओलीले अदालतलाई कहिले आफू त कहिले महान्यायाधिवक्तामार्फत थर्काउन लागेको बताए । उनले भने, ‘अदालतले अहिले पनि संविधान अनुसार फैसला गर्छ भन्ने विश्वास छ । केपीजी अहिले अदालतालई थर्काउन लागेका छन् कहिले आफू त कहिले महान्यायाधिक्तामार्फत । सर्वोच्चले ऐन कानुन अनुसार संविधान अनुसार फैसला गर्छ । सेटिङ गर्न भनेको हो त मैले ? त्यो गलत हो । हेर्नुहोला जे हुन्छ संविधानअनुसार त्यही हुन्छ ।’ उनले केही दिनअघि राष्ट्रपतिप्रति दिएको अभिव्यक्तिको लगत अर्थ लगाइको बताए ।
उनले भने, ‘राष्ट्रपतिकाबारेमा बोल्न पाइन्न ? हु इज केपी ओली ? राजा ल्याउनु पर्यो भनेर आफूले बोलेको होइन । उनको कार्यशैली ठीक भएन पो भनेको त । यसबारेमा ठोकेर लेखिदिनुपर्यो तपाइँहरुले ।’
उनले गठबन्धन सरकार बनेपछि सकियो भन्ने नभएको बताए । प्रचण्डले माधव नेपाललाई अहिले केही अप्ठ्यारो देखिएपनि अब एमालेलाई हाँक्ने उहाँनै भएको बताए । उनले भने, ‘ शेरबहादुरजी र मलाई केही समस्या छैन । हामी पार्टी अध्यक्ष नै छौं ।
माधवजीलाई अलि अप्ठ्यारो हो तर ओली खस्किए अब माधवजीनै हो एमालेमा ।’ उनले नेताहरु सबैलाई एउटै डालोमा नहाल्न पनि आग्रह गरे ।