काठमाडौं । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले राष्ट्रपति संस्थाले निरपेक्ष भएर काम गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार बहस गर्दै खरेलले कसैले संसद्को विशेष अधिवेशन आह्वानको निवेदन लैजाँदा घण्टौँ दर्ता नै नगरिदिने अनि केपी ओलीका निवेदन रातको ९ बजे, ११ बजे पनि स्वीकार गर्दै प्रतिनिधिसभा नै विघटन गरिदिने भन्दै यसमा राष्ट्रपति चुकेको बताएका हुन् ।
उनले भने,‘पुत्र मोहमा फसेका धृतराष्ट्र र उहाँमा के फरक भयो ? बहुमतको समर्थन रहेका देउवालाई ७६(५) अनुसार नियुक्त गर्नु भनेर परमादेश जारी गर्नु पर्छ। यो बाध्यकारी अवस्था हो। सांसदहरु जाँदा कुराएर राख्ने अनि ओलीले गरेका निर्णय चाहिँ मध्यरातमा गर्ने कसरी हुन्छ ?’
उनले संसद्मा गएर निरुपण गर्ने विषय राष्ट्रपतिले गर्न नपाउने बताए । बहुमत सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकाले त्यसमा विवाद नरहेको उनले तर्क गरे ।
ह्वीप उल्लंघन गरेर दिएको भोटको मान्यता हुँदैन भनेर विश्वका कुनै पनि संविधानले नभनेको खरेलले बताए । उनले भने, ‘ह्वीप उल्लंघन गरेर दिएको भोटले मान्यता पाएका पर्याप्त उदाहरण छन् ।’