काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले रिट निवेदकलाई दिएको १२ घण्टाको समय सकिएको बताए । विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिएका छन् ।
त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछन् ।