काठमाडौं । कोभिडका कारण लगाइएको निषेधाज्ञाका कारण बन्द रहेका सार्वजनिक सवारीका साधन मंगलबारदेखि संचालनमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालयले उपत्यकामा जोरबिजोरको आधारमा २५ सिटमाथिका सार्वजनिक यातायात र निजी सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएपछि सवारीसाधन संचालनमा आएका हुन् ।
सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने व्यवस्था गरिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।