काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले असार २२ गते बिहान ११ बजे अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई छलफलका लागि बोलाएको हो ।
राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्।
यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन्। ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका छन् ।
ठाकुरले भने आफू प्रथम अध्यक्ष भएको दाबी गर्दै कार्यकारिणीको व्यापक हेरफेर गरेर आफ्नो पक्षमा बहुमत पुर्याएको दाबी गरेका छन् । आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा निवेदन दिएको छ।