इथियोपियाको संघीय फौजविरुद्धको आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही फौजले आफूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको बताएका छन् । इथियोपियाको फौजले गत नोभेम्बरमा राजधानी आफ्नो नियन्त्रणमा लिएको थियो ।
मिकेलीस्थित प्रत्यक्षदर्शीहरूले उत्सव मनाउन सडकमा मानिसहरू नाचिरहेको बताएका छन् । इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको पुष्टि गरेको छैन बरु युद्धविरामको एकतर्फी प्रस्ताव गरेको छ ।
टिग्रेमा गत साता नयाँ आक्रामक हमलाहरू सुरु गरेका त्यहाँका लडाकुहरूले मिकेलीको अन्तरिम प्रशासनलाई बाहिर निकालेको भन्ने खबर सोमबार आउन थालेका थिए ।
टिग्रे क्षेत्रमा त्यहाँको नेतृत्वलाई बाहिर निकाल्नका लागि प्रधानमन्त्री अबी अहमदले आठ महिनाअघि सरकारी फौज पठाएका थिए । टिग्रे पीपल्स लिबरेसन फ्रन्टका प्रवक्ताले समाचार संस्था रोयटर्सलाई मिकेली आफ्नो नियन्त्रणमा आएको बताएका हुन् ।
मिकेलीमा रहेका केही मानिसहरूले बीबीसीलाई पनि संघीय फौजको प्रस्थानपछि त्यहाँ उत्सब मनाइएको बताएका छन् । अन्तरिम सरकारका एक नाम नखुलाइएका स्रोतले समाचार संस्था एएफपीलाई त्यहाँबाट सबैले छोडेको बताएका छन् ।
तर दुई जना प्रत्यक्षदर्शीले भने टिग्रेका सेनाहरू मिकेलीमा देखिएको रोयटर्स समाचार संस्थालाई बताएका छन्।