
क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको छ । ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमबार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन् । उक्त क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको बताइएको छ ।
ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतबार ४६.६ डिग्री सेल्सियस थियो भने सोमबार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो । यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन । बर्नेबीमा मात्रै प्रहरीले एक्कासि मृत्यु भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको बताएको छ र त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू छन् ।
ग्लोब र मेल पत्रिकाले जनाए अनुसार ब्रिटिश कोलम्बियाका प्यारामेडिकहरूले आइतवार तापक्रम बढ्दा समस्या भएको भन्दै एकसयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका बताएका थिए ।
लीटनको सानो गाउँमा बस्ने मेघन फ्यान्डरिचले ती पत्रिकालाई जनाए अनुसार घरबाट बाहिर निस्किन लगभग असम्भव भनेको थियो । इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ ।