काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र,राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताएका छन् । बुधबार नागरिक अगुवाहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्ट्रको रक्षाका लागि ५ पाँच दलीय गठबन्धन बनेको स्पष्ट पारे । उनले ओली प्रवृत्ति विरुद्ध एकजुट हुन पनि सबैलाई आव्हान गरे ।
उनले भने, ‘लोकतन्त्र, राष्ट्र, संविधानको निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो । त्यसका विरुद्ध हामी छौं । ओलीका विरुद्ध जाने हदसम्म तपाईँहरुसँग हो हामी तर तपाईँहरु भित्र पनि हामीले ओली देखेका छौं हामीले । त्यसैले धेरै आशा छैन तर अहिलेको मुख्य समस्या ओली भएकाले त्यहाँसम्म हामी सँगै छौं भन्ने ठान्छु । हाम्रो कार्यगत एकता भयो । हामीले राम्रोसँग आत्मसाथ गर्दा यो छलफल क्रिटिकल ढंगले अघि बढेकाले यो बढी फलदायी हुन्छ भन्ने मैले महसुस गर्छु ।’
उनले शान्ति प्रक्रियादेखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समयसम्म आफूले गरेको योगदान तथा सम्झौताहरुको फेहरिस्त राख्दै उनले ती काममा लचिलो हुनु गल्ती थियो भनी प्रश्न गरे ।
कम्युनिष्ट पार्टी एकीकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रुपमा देखा परेको टिप्पणी गरे ।
उनले विश्वभरका कम्युनिष्ट पार्टीहरुमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताए ।
उहाँले भन्नुभयो “अहिले भिलेन भए । कुनचाहीँ पार्टी छ त्यसमा भिलेन नजन्मिएको पार्टी संसारमा कुनै छ । जन्मिन्छ । लड्ने हो । लड्दै जाने हो । मैले केपी ओलीलाई त्यतिसाह्रै अपराधी त छैनन् भन्ने ठानेँ तर सकिएन । सक्न त सकेको हो । बहुमत पनि बनाएको हो तर पनि भएन । हामी पराजित भएकै होइन । यो परिस्थिति जो श्रृजना भएको छ । यस्तो परिस्थिति किन तयार भयो भन्ने पक्ष पनि हेरिदिनोस् भन्ने मात्रै मेरो आग्रह हो ।’
उनले नयाँ सरकार बन्ने वित्तिकै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउने, वर्तमान सरकारले गरेका अवैधानिक राजनीतिक नियुक्तिहरुलाई बदर गर्ने लगायतका काम गर्ने पनि स्पष्ट पारे ।