काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकले यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकले स्थायी कमिटीमा पूर्वमाओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमझी, मणि थापा र एमालेकै रघुविर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि गरेको छ ।
आयोजक कमिटीको निर्णयसँगै केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको छ । गत चैतमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षको अनुपस्थितिमा आयोजक कमिटी गठन गरेका थिए ।
सर्वोच्च अदालतले आयोजक कमिटीले दिर्घकालिन निर्णय गर्न नसक्ने आदेश दिएपछि केन्द्रीय कमिटी व्यूँताउने दबाब ओलीलाई परेको थियो । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता ज्ञवालीले बताए । त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको बताए ।