काठमाडौं । जातिय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेपनि षड्यन्त्रमुलक तरीकाले फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेकी छन् ।
बुधबार आयोगमा उजुरी दर्ता गरी प्रधानले रुपा सुनार माथि आफूले कुनै प्रकारको जातजाति सम्बन्धी विभेद एवम् छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै हदैसम्मको कारबाहीको माग गरेकी छन् ।
उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाहीको माग गरेकी छन् । असार एक गते सुनारलाई दलित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरीमा उजुरी दिएसँगै तीन दिन प्रधालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
सुनारले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरित भएकोले कारबाही गरिनुपर्ने प्रधानले माग गरेकी छन् ।
यस्तै प्रधानले सञ्चारकर्मी सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाएकी छन् । घरधनी श्रीमान र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन् ।
उजुरीमा आफूलाई घरधनी भनि झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उल्लेख गरिएको छ । सञ्चारकर्मीको प्रमाणपत्रको दुरुपयोग गरी निषेधाज्ञाको दिनमा खुलेआम हिडेको तथा सुनार आफैले जातको कुरा निकाली आफूलाई विवादमा ल्याएर मानवता विरोधी अपराध गरेको दाबी प्रधानले गरेकी छन् ।