
चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको एक सय वर्ष पुगेको उत्सव मनाइरहेको छ । अधिकारीहरूले कार्यक्रमबारे खुलाएका छैनन् तर राष्ट्रपति सी जिन्पिङले बिहीवार एउटा मन्तव्य दिने बताइएको छ ।
चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ । हङकङले पनि उही मितिमा गरेको हस्तान्तरणको वर्षगाँठ मनाउँदैछ । सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो ।
त्यो समयमा देशमा व्यापक परिवर्तनहरू भए–तर केही त्यस्ता परिवर्तनहरू भने स्पष्ट रूपमा देखिनेगरी हटाइएको छ । सोमबार, बेइजिङस्थित बर्डस् नेस्ट रङ्गशालामा द ग्रेट जर्नी नाम दिइएको कला देखाइएको थियो । उक्त प्रदर्शनमा कलाकारहरूले पार्टी र देशको इतिहास झल्काउने खालका पहिरन लगाएका थिए र साजसज्जा पनि त्यस्तै खालको थियो ।
तर कल्चरल रिभोलुसन अर्थात् सांस्कृतिक क्रान्ति, १९८९ तियानआनमेन स्क्वाएर प्रदर्शन र हङकङका प्रजातन्त्र समर्थकको प्रदर्शनहरू जस्ता महत्वपूर्ण कार्यक्रमहरू भने नरहेको एएफपी समाचार संस्थाले जनाएको छ । अप्रिलयता, चीनमा प्रोपोगाण्डा चलचित्रहरू देखाउन निर्देशन दिइएको छ। ‘रेड फिल्मस्’ भनिने ती चलचित्र सातामा कम्तीमा दुईपटक देखाइन्छ ।
यसैबीच, वार्षिकोत्सव मनाउन वर्षैभरि प्रसारणका लागि एकसय टेलिभिजन कार्यक्रमहरूको मितिहरू तय भइसकेको छ । चीनको उपलब्धिहरूको प्रशंसा गर्ने १०० प्रतिशत भनिने गीत पनि सार्वजनिक गरिएको छ जसमा १०० गायकहरू रहेका छन् ।
‘रेड टुरिजम्’ पनि निकै लोकप्रिय भएको छ। सीट्रिपजस्ता ट्राभल कम्पनीहरूले ‘रेड पिल्ग्रिम्स’ का लागि १ सय नौला मार्गहरू सार्वजनिक गरेका छन् । विज्ञहरूका अनुसार पार्टी र देशको इतिहासलाई प्राथमिकता दिएर उत्सवहरू मनाइरहँदा, सीसीपीले चीनको तीव्र विकासलाई पनि पर्यायका रूपमा देखाउन खोजेको देखिन्छ ।
बिहीबार नै ब्रिटिश उपनिवेश चिनियाँ शासकलाई हस्तान्तरण गरिएको २४औँ वर्षगाँठ पनि हो । हङकङमा धेरैजसो उत्सवहरू हुने भए पनि हालैका वर्षमा उक्त मितिमा त्यहाँ बेइजिङ विरोधी प्रदर्शनहरू हुने गरेका छन् ।
तर गत वर्ष विवादास्पद राष्ट्रिय सुरक्षा कानुन ल्याइएपछि भने विरोधी आवाजहरूलाई बन्द गरिएको छ । हङकङ प्रहरीले कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध भन्दै ¥याली आयोजना गर्न अनुमति दिन अस्वीकार गर्ने आयोजकहरू बताउँछन्।