काठमाडौं । नेपाली कांग्रेसले ‘फ्रन्टलाइनर’ को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको बताएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामूहिक चित्र नष्ट गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्, ‘अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ । तर लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन । काठमाडौको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?’