बघराम हवाई मैदान २० वर्षपछि अफगानिस्तानलाई हस्तान्तरण

Spread the love

अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरेको छ । सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवं आतंकवादी संगठन अल–कायदाको संरचना ध्वस्त बनाउन अमेरिकाले बघराम विमानस्थलको प्रयोग गरेको थियो ।

दुई अमेरिकी सैनिक अधिकारीले उक्त विमानस्थल अफगानिस्तानको सेनालाई हस्तान्तरण गरिएको बताएका छन् । बघराम हवाई मैदान हस्तान्तरण गरेसँगै अफगानिस्तानबाट अमेरिकी सेना अब पूर्ण रुपले स्वदेश फर्कन्छ भन्ने आभास भएको छ । हवाई मैदान नै हस्तान्तरण गरेकाले अफगानिस्तानमा पछिल्लो समय तैनाथ २५०० देखि ३००० अमेरिकी सेनाले पनि अफगानिस्तान छाडिसकेको अनुमान गरिएको छ ।
राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता भइसक्ने बताए पनि त्योभन्दा अघि नै अमेरिकी सेना फिर्ता भएका छन् ।

साथै नेटो आबद्ध झण्डै सात हजार सैनिक पनि यही जुलाई ४ भित्रै स्वदेश फर्काउने गरी तयारी भइरहेको छ । अधिकांश नेटो सैनिकहरु यसै साता बिना कुनै घोषणाका साथ अफगानिस्तान छाड्दैछन् । एपीको विश्लेषणमा धेरैजसो युरोपेली मुलुकका सैनिकले साना समारोह गरी अफगानिस्तान छाडिसकेको देखिएको छ ।

संयुक्तराज्य अमेरिकाले सुरक्षाको कारण देखाउँदै अन्तिम अमेरिकी सैनिक कहिले फिर्ता भइसक्छन् भनेर केही बताएको छैन । काबुलस्थित हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका कारण पनि अमेरिकाले अन्तिम सैनिकको विदाईको घोषणा नगरेको हो । टर्की र अमेरिकी सेनाले यस विमानस्थलको सुरक्षा गरिरहेका छन् ।

अमेरिकाले राजधानी काबुलस्थित अमेरिकी राजदूतावासको सुरक्षाका लागि ६०० जना सैनिक राख्ने बताएको छ । एक पटक सन् २०१२ मा बघराम हवाई मैदानमा एक लाखभन्दा बढी सैनिकको उपस्थिति थियो । राजधानी काबुलबाट करिब एक घण्टाको मोटर यात्राबाट बघराम पुग्न सकिन्छ ।

यो दोस्रो पटक हो, अफगानिस्तानमा हस्तक्षेप गर्न एवं स्वदेश फिर्ता हुन बघरामको प्रयोग भएको छ । सन् १९५० का दशकमा तत्कालीन सोभियत युनियनले यो सैनिक विमानस्थल बनाएको थियो । सन् १९७९ मा अफगानिस्तानमा आक्रमण गर्दा रुसले यही विमानस्थलको प्रयोग गरेको थियो ।

सन् २००१ मा अमेरिकी र नेटो फौजले पनि यही विमानस्थललाई प्रयोगमा ल्याएका थिए । यो विशाल हवाई मैदानमा दुई वटा रनवे छन् । पछिल्लो पटक बनाइएको रनवे १२ हजार फिट लामो छ र यो सन् २००६ मा ९ करोड ६० लाख डलरमा बनाइएको हो ।
बघराम हवाई अखडा अमेरिकी र नेटो फौजले परित्याग गरेको बारेमा अफगान सरकारले पनि केही बताएको छैन ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कमला घिमिरेको ‘हान्छु तिम्लाई लौरीले’(भिडियोसहित)

२०७८ असार १८, शुक्रबार १५:१६
Spread the loveबाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ । गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा शब्द सङ्कलन नेत्र अर्याल र सङ्गीत सेञ्चुरीको हो । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सेञ्चुरी, घिमिरे, सरस्वती फुयाँल, आयुषा […]