
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएकी छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कांग्रेस महाधिवेशन र श्रमजीवी’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले लोकतन्त्र स्थापनमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् ।
कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताइन् । वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उनको भनाइ थियो । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको रुपान्तरणका लागि श्रमिकको महन्त्वपूर्ण भूमिका रहेको बताए । पार्टी र श्रमिक सँगसँगै गएमात्र पार्टी बलियो हुने उनको भनाइ थियो । प्रवक्ता शर्माले सरकारले जनताको हितमा काम गर्न नसकेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले दुई तिहाइ बहुमतसाथ स्थापना भएको वर्तमान सरकारले जनताको संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाए । केन्द्रीय सदस्य सीता गुरुङले श्रमिकसँग कांग्रेसलाई जोड्न सकेमात्र पार्टी र लोकतन्त्र बलियो हुने बताइन् ।