काठमाडौं । नेकपा एमालेले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्न र साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो।
यस्तै बैठकले पार्टीको विधान सम्मेलन आगामी साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ । महासचिव ईश्वर पोखरेललाई सांगठिनक, उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन र निर्माण तथा नेता रामबहादुर थापालाई व्यवस्थापनको जिम्मा दिइएको छ । बैठकले आउँदो भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ।
आफ्ना केन्द्रीय सदस्यहरूलाई आगामी मंसिरका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी जुट्न निर्देशन दिने निर्णय गरेको छ।
यसैबीच, एमाले महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षले भन्दै आएको २०७५ जेठ २ को सर्त स्वीकार्न नसकिने बताएका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटी सदस्यले राखेका सुझावको जवाफ दिने क्रममा महासचिव पोखरेलले माधव नेपालहरूले जेठ २ लाई यान्त्रिक रूपमा राखेको भन्दै त्यो स्वीकार्न नसकिने बताएका हुन् ।
२०७५ जेठ २ यता पार्टीमा धेरै व्यक्ति जोडिएको भन्दै पोखरेलले जिल्ला र प्रदेश तहमा पनि त्यसरी नै अगाडि बढ्न निर्देशन दिए । उनले जेठ २ का नाममा पार्टी एकतालाई कमजोर बनाउने, भत्काउने र पार्टीलाई अस्तव्यस्त बनाउनेलाई जिम्मेवारी दिन नसकिने बताएका हुन् ।