१४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति

Spread the love

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ ।

बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कूल १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० रुपैयाँ बराबरको साधारण शेयर बिक्री हुनेछ । पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ ।

बोर्डका अनुसार २०७७ असारमा कूल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको सङ्ख्या शतप्रतिशतले वृद्धि भई ३५ लाख नाघेको अवस्था छ ।

यस्तै सात लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको सङ्ख्यासमेत एक वर्षको अवधिमा साढे तीन गुणा बढीले वृद्धि भई २६ लाख पुगेको छ । यस्तै प्राथमिक सार्वजनिक निष्काशनमा मुस्किलले पाँच लाख जनाले भाग लिने गरेकामा पछिल्लो पटकसम्म आइपुग्दा त २१ लाखले आवेदन दिएका छन् ।

पछिल्लोपटक सार्वजनिक निष्काशन गरेको जीवन विकास लघुवित्तको साधारण शेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो ।

जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण शेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ ।

धितोपत्र बजार अनलाइन कारोवारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआइडी लिएकाका हालसम्म त्यो सङ्ख्या बढेर छ लाख ६० हजार बढी पुगेको छ । दैनिक छ लाख बढीले कारोवारमा सक्रियता देखाएका छन् । बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाका अनुसार प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

बोर्डका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब बराबरको पूँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो ।

प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको सानो बचत सङ्कलन गरी दीर्घकालीन पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको छ ।

बोर्डका अनुसार चालु आर्थिक वर्षको शुरुवातीमा नै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्री गर्यो । यस्तै समाज लघुवित्तले ८६ लाख बराबरको आठ लाख ६० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो ।

बोर्डबाट अनुमति पाउनेमा पाँच जलविद्युत् कम्पनी छन् । त्यसमा सिङ्गटी हाइड्रोपावरले ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । उक्त परिमाणको शेयर आयोजना प्रभावित स्थानीयवासी र आम सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

ग्रिन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्री गर्यो । बोर्डले अनुमति दिएको जलविद्युत् कम्पनीमध्ये प्रिमियमसमेत जोडेर साधारण शेयर बिक्री गर्नेमा रुरु जलविद्युत् परियोजना हो । सो कम्पनीले आठ करोड १५ लाख ४१ हजार १०० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण शेयर बिक्री गर्यो ।

सिइडिबी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर बिक्री गरिसकेको छ । यस्तै तेह्रथुम पावर साधारण शेयर बिक्रीका लागि अनुमति पाइसकेको छ । सो कम्पनीले १२ लाख कित्ता साधारण शेयर बिक्री गर्दैछ ।

साधारण शेयर बिक्री गर्ने कम्पनीमध्ये नेपाल पूर्वाधार बैंक ठूलो हो । सो बैंकले आठ अर्ब बराबरको साधारण शेयर चालु आर्थिक वर्षमा बिक्री गरेको हो । यस्तै जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोशीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । सो कम्पनीले एक अर्ब ५० करोड बराबरको साधारण शेयर बिक्री गर्दैछ ।

बोर्डका अध्यक्ष ढुङ्गानाका अनुसार बजारको बढ्दो स्वरुपका अनुसार सरकारको राजश्वमा समेत पूँजी बजार भरपर्दो स्रोतका रूपमा स्थापित भएको छ । गत वर्षसम्म पूँजीगत लाभकरवापत सरकारलाई वर्षमा मुस्किलले एक अर्ब बराबरको योगदान पुर्याउने गरेकामा हाल महिनामै सो भन्दा बढी रकम सङ्कलन हुन थालेको छ । लामो समयदेखि स्पष्ट नभएको पूँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार भएका कारण पनि बजार विस्तारित भएको बोर्डको बुझाइ छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट १९ जनाको मृत्यु, ३०६६ जना संक्रमणमुक्त

२०७८ असार १९, शनिबार १६:०४
Spread the loveकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५२७ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६४३५८० पुगेको छ । त्यस्तै पछिल्लो घण्टामा थप १९ जनाको मृत्यु भएको छ । […]