काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् ।
आइतबारको राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँवानेश्वरमा संञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल आपसमा रिसाएको र त्यो रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन् । पार्टी एकता गर्नुपर्छ भनेर आफू अध्यक्ष ओली तिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए । उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरे ।
उनले भने, ‘मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा वामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ । यस्तो बेलामा नआत्तिकन सबै साथीहरुलाई धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरुलाई भनेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसँग, केपी ओली पनि माधवजीसँग बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन ।’