संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरौंः वामदेव गौतम

Spread the love

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाबीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताएका हुन् । उनले नियमावली परिवर्तन गरेर भएपनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्ने बताए ।

उनले भने, ‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ । मलाई प्रधानमन्त्री हाम्रो अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नु भो । म मानिनँ । त्यसोभए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो म उठ्दिन भने । तपार्इँ किन उठ्नुहुन्न भन्नभयो ? मैले भने राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचमा विभेद अन्त्य गर्दिनुुस् । कसरी हुन्छ विभेद अन्त्य भन्दा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुस् । संसारमा हाम्रो देशमा मात्रै त्यो बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरुले शासन गर्नु पर्दैन भन्ने त्यसको ठाडो नक्कल भयो । त्यो हटाइदिनुस्, संविधान संशोधन गर्नुस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो । म आज फेरी पनि उठाउन चाहन्छु । यो राष्ट्रिय सभामा यदि यो हललाई आवश्यक पर्छ र यो हलले मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामीले आज पास गरौँ । र त्यो बाहिर कोठाभित्र प्रस्तुत गरेको ७८/७९ को बजेट वक्तव्य फेरि आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुस् । हामीले छलफल गर्न पाऊँ ।’

गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन गराएर नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) व्यूँताएको अवस्थामा आफूले नेकपा एमाले रोजेर बैठकमा समेत उपस्थित भएको बताए ।

पार्टी अध्यक्ष ओलीले ०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफु बैठकमा सहभागी भएको स्पष्ट पारे । वामदेव केपी ओलीतर्फ गएको भन्ने हल्ला भएको भन्दै उनले आफू केपी ओलीतिर नभई एमाले भएको प्रमाण पेश गर्न बैठकमा गएको बताए ।

उनले भने, ‘मैले केही समय पहिले नेकपा हुँदाखेरी भएको पार्टी विभाजनमा म कतैपनि सामेल हुन पाइनँ । सकिनँ । र मलाई मन लागेन । अहिले म नेकपा एमाले पुनःस्थापित भएपछि मैले एमाले रोज्नैपर्यो । म एमालेको एउटा सदस्य हुँ । जिम्मेवार व्यक्ति पनि हुँ । जिम्मा पाएँ त्यो निर्वाह गर्ने व्यक्ति पनि हुँ । त्यसो भएर म केही समय पहिले पार्टी अध्यक्ष कमरेड केपीले ०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो । र म त्यो बैठकमा भाग लिन गएँ । धेरै मानिसहरुले के भने भने वामदेव केपी तिर गयो भनेर भने । मैले यो सभामार्फत् हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञहरुलाई, जनतालाई, नागरिकलाई जानकारी गराउन चाहन्छु, म कुनै तर्फ गएको होईन । म नेकपा(एमाले) भएको हुनाले एमाले भएको प्रमाण पेश गर्न म गएको हो । तर मैले पार्टीमा गइसकेपछि जे भुमिका निर्वाह गर्छु भनेको थिएँ त्यो भुमिका यद्यपी मैले प्राप्त गर्न सकिनँ ।’

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेले बोलायो स्थायी कमिटी बैठक

२०७८ असार २७, आईतवार १५:०३
Spread the loveकाठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको […]

समाचार छुट्याे की?